सर्लाही । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण आइपरेको विपद्मा खर्च गर्न लागि हरिवन नगरपालिका कार्यालयले स्थापना गरेको नगर प्रकोप व्यवस्थापन कोषमा नेपाली कांग्रेस हरिवन नगर समीतीले पनि नगद सहयोग गर्ने भएको छ ।
नेपाली कांग्रेस हरिवन नगर समितिले कोषमा ५१ हजार रुपैंया जम्मा गर्ने निर्णय भएको सचिव निरोज कार्कीले जानकारी दिए । ‘आज मेयरज्यूलाई जानकारी गराईसकेका छौं’, सचिव कार्कीले सोमबार ‘भोली खाता खोलिने जानकारी आएको छ, खाता खुल्ने वितिकै ५१ हजार रुपैंया जम्मा गरिदिने छौं ।’
हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले नेपाली कांग्रेस हरिवन नगर समितिले कोषमा ५१ हजार रुपैंया सहयोग गर्ने जानकारी आफूलाई गराएको बताए
।
‘आज कांग्रेसका साथीहरुले कोषमा ५१ हजार रुपैंया जम्मा गर्ने जानकारी गराउनु भएको छ’, मेयर प्रसाईंले भने, ‘कोरोना भाईरसको संक्रमणका कारण आईपरेको विपदको यसघडीमा प्रमुख विपक्षी पार्टीबाट नगरपालिकाको कोषमा सहयोग घोषणा हुनु सह्रानीय एवं उदाहरणीय कार्य हो ।
मेयर प्रसाईंका अनुसार कोषमा यसअघि नै ईन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेश केडियाबाट ५ लाख, सर्लाही ट्रक व्यवसायी संघ ५१ हजार, जय सन्तोषि मा महिला समूह ११ हजार ११५, ईन्दुशंकर चिनी उद्योगका शशिभुषण अग्रवाल ११ हजार, ७६ वर्षीय वृद्धा महालक्ष्मी मैनालीबाट २ हजार ११५ रुपैंया सहयोग घोषणा भईसकेको छ ।
मेयर प्रसाईंले गत शुक्रबार नगरबासीहरुमा अपिल सहित सम्बोधनका क्रममा उक्त कोष स्थापनाको घोषणा गरेका थिए । नगरपालिका कार्यालयले ११ लाख रुपैंया, मेयर प्रसाईं र उपमेयर रेणुका पौडेलले ५०/५० हजार, वडाध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधिले एकमहिनाको पारिश्रमिक, कर्मचारीले एक दिनको तलबबाट कोषको सूरुवात गरिएको हो ।
कोषमा जम्मा हुने रकम कोरोना भाईरस संक्रमणका कारण आईपरेको विपद् व्यवस्थापनमा खर्च गरिने मेयर प्रसाईंले जानकारी दिए ।‘विशेषगरी कोषको रकम लकडाउनका कारण निकै कठिनाई झेल्दै आएका दैनिक काम गरेर छाक टार्नुपर्ने परिवारलाई खर्च गरिने छ’, मेयर प्रसाईंले आग्रह गरे, ‘विपद्को सामना गर्नका लागि खर्च हुने कोषमा सबै पक्ष, तह र तप्काले यथाशक्य सहयोग गर्न समेत अनुरोध गर्दछु ।’









प्रतिक्रिया दिनुहोस्