Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


१३ सडक निर्माणमा व्यापक अनियमितता: सहसचिव र ठेकेदारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


1.6k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वटा सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हालका सहसचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हाल नेपाल सरकारका सहसचिव रहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी र खेमराज विष्टसहितले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको पाइएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका जोशी हाल सहसचिवका रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् । जोशी र विष्टविरुद्ध यसअघि पनि मुद्दा दायर गरिएको थियो । उनीहरू पटकेमा परेका हुन् । मुद्दा दायरसँगै उनीहरू निलम्बनमा परेका छन् ।आयोगले सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन कार्य गराइ, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्यांकन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी दिएको अनुसन्धानबाट खुलेपछि प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टलाई ३१ लाख ३७ हजार ८ सय ८३ रुपैयाँ ७५ पैसा माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विष्ट स्पेसिफिकेसन तथा सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँच गर्न सम्बन्धित साइट इन्जिनियर-प्राविधिकलाई जिम्मेवारी नतोकी नापी किताबमा सहमति जनाई गुणस्तरहीन बेस कोर्स र सब–बेसकोर्सको कार्यलाई स्तरयुक्त नाप देखाएको अख्तियारले जनाएको छ । अर्का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हालका सहसचिव देवराज जोशीले पनि यही कसूरबाट सरकारलाई २५ लाख ५२ हजार ८ सय ८६ रुपैयाँ ६८ पैसा नोक्सान पुर्याएको अख्तियारले जनाएको छ । आयोगले जोशीलाई हानि–नोक्सान पु¥याएको रकम बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।