
काठमाडौँ । ललितपुर महानगरपालिका–१४ का नारायण तिमिल्सिनाले २०७१ सालमा ‘अक्सिजन ग्यास प्लान्ट’ खोले। ललितपुर महानगरपालिका–१५ को औद्योगिक क्षेत्रमा उनले ‘सगरमाथा अक्सिजन ग्यास प्रालि’का नामले कम्पनी खोलेका थिए। उनको भनाइअनुसार त्यसमा २० करोडजति लगानी लागेको छ।
अक्सिजन ग्यास प्लान्ट खोल्नुको पछाडि उनका दुई उद्देश्य थिए। पहिलो, आफ्नै बिजनेस र दोस्रो, समाजसेवा। नेपालका बिरामीहरूले अक्सिजनको चरम अभावका कारण अकालमै ज्यान गुमाएको उनले देखेका थिए। दूरदराजका गाउँमा अक्सिजनको उपलब्धता त सोचभन्दा परको कुरा, सहरी क्षेत्रका अस्पतालले नै पर्याप्त अक्सिजन पाइरहेका थिएनन्। त्यसमा नागरिकहरूले ठुलै सास्ती भोगिरहेका थिए।
‘जुन कुरा बढी आवश्यक छ, त्यसैमा लगानी गर्दा व्यवसाय पनि फस्टाउने नै भयो,’ उनले भने, ‘त्यसबाहेक व्यवसायसँगै स्वास्थ्य र प्राण रक्षाका लागि चाहिने अक्सिजनको उपलब्धता बढाउनु आफैंमा समाजसेवा हो भन्ने मलाई लाग्यो। त्यसैअनुसार यो कम्पनी खोलेको थिए।’ उनले सोचेजस्तै भयो। व्यवसाय फस्टाउँदै गयो। उनकै प्लान्टबाट उत्पादित अक्सिजनले कैयौं बिरामीले प्राणवायु पाए। कोभिड–१९ को महामारीमा त आफ्नो कम्पनी धेरैका लागि वरदान बनेको नारायणका भाइ कृष्ण तिमिल्सिनाले बताए। उनले भने, ‘कोभिड–१९ मा त हामीले लाखौंकै ज्यान बचायौं।’
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्