Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटमा लिखित सहमति


1.1k
Shares

काठमाडौं । सत्तारूढ गठबन्धनमा स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखको भागबण्डामा लिखित सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको नगर प्रमुख र उपप्रमुख पदमा लिखित सहमति भएको हो । सहमतिअुनसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको नगरप्रमुख तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पद लिनेछ ।

त्यसै गरी नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिकाको नगर प्रमुख र ललितपुरको उपप्रमुख, नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको नगर प्रमुख र काठमाडौं महानगरपालिकाको उप्रमुख भाग लगाइएको छ । जनता समाजवादी पार्टीलाई वीरगन्जको नगरप्रमुख र विराटनगरको उपप्रमुख दिने सहमति भएको छ । उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढीको नगर प्रमुख लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उप्रमुख लिने सहमति भएको छ । माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नगर प्रमुख पाएको छ भने धरान र धनगढीको उपप्रमुख पाएको छ ।

त्यसै गरी नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुरको उपप्रमुखमा उम्मेदवारी दिनेछ । त्यसै गरी जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नगर प्रमुख तथा कलैया र नेपालगन्जको उप्रमुख लिने सहमति भएको छ । सत्ता गठबन्धनले आ–आफ्नो पुरानो अडान छोड्दै महानगरपालिका र उपमहानगरपालिकामा सहमति जुटाएको हो। सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटमा सहमति जुटेसँगै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र भने विवाद चुलिएको छ । चितवनको भरतपुर र पोखरा महानगरपालिकामा आफ्नो पार्टीले नगर प्रमुख नपाएको भन्दै कांग्रेसभित्र विवाद बढेको हो।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।