
काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारूढ गठबन्धन आबद्ध चार दलबीच ६ महानगरपालिकामा तालमेल सहमति भए पनि उपमहानगरमा किचलो बढेको छ । पोखरा महानगरमा नेपाली कांग्रेसले अडान छाडेपछि सत्ताधारी दलबीच ६ महानगरको मेयर पदमा भने मंगलबार दिउँसै भागबण्डा मिलेको थियो । ती महानगरमा उपमेयरमासमेत भागबण्डा भइसकेको छ । तर, ११ उपमहानगर मेयर र उपमेयरमा सहमति जुट्न नसकेपछि सत्तारूढ दलले भागबण्डालाई अन्तिम रूप भने दिन सकेनन् । मंगलबार राति १० बजेबाट आज बुधबार बिहान २ बजेसम्म बसेको बैठकमा सहमति हुन नसकेको हो ।
सत्तारूढ दलले बनाएको निर्वाचन अनुगमन तथा परिचालन समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले महानगर विषयमा सहमति भए पनि उपमहानगरमा बन्न नसकेको जानकारी दिए । ‘आज बुधबार ११ बजे पुनः बस्ने गरी बैठक सकियो, महानगरका विषयमा सहमति भए पनि उपमहानगरमा कुरा मिलेन,’ समिति संयोजक पौडेलले राजधानीसँग भने । ६ वटै महानगर र ११ उपमहानगरमा गठबन्धन दलबीच तालमेल सहमतिलाई अन्तिम रूप दिन भन्दै रातारात बैठक बसिएको थियो । मंगलबार राति १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो छलफल बुधबार बिहान २ बजे बिनानिश्कर्ष सकिएको हो ।
गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालबीच ६ महानगरमा भने मेयर पदमा भागबण्डा भइसकेको छ । जसअनुसार ६ मध्ये तीन महानगर काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगन्ज महानगर भाग परेको छ ।स्रोतका अनुसार काठमाडौं महानगरमा मेयर कांग्रेसले लिँदा उपमेयर नेकपा एसलाई दिने सहमति भएको छ । ललितपुरमा उपमेयर माओवादी केन्द्रको भागमा परेको छ । यसैगरी, विराटनगरमा मेयर कांग्रेसले लिने भएपछि उपमेयर जसपाको भागमा परेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्