Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


कोरोना भाइरसले अमेरिकामा २२ सय २२ जनाको मृत्यु, १ लाख २३ हजारभन्दा बढी संक्रमित


0
Shares

एजेन्सी, चैत्र १६ । अमेरिकामा कोरोना भाइरसबाट २ हजार २२२ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पछिल्लो दुई दिनमै दोब्बर भएको हो । संक्रमितको संख्या भने १ लाख २३ हजार पुगेको छ ।

अमेरिकामा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि भएदेखि मृत्यु हुनेको संख्या एक हजार पुग्न एक महिना लागेकोमा पछिल्लो दुई दिनमै ज्यान गुमाउनेको संख्या दोब्बर भन्दा बढीले बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै वासिङ्गटनपोस्टले लेखेको छ ।

पछिल्ला दिनमा संक्रमित ह्वात्तै बढ्दा अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमित हुने देश भएको छ । स्वास्थ्य अधिकारीहरुले योभन्दा खराब अवस्था आउने चेतावनी दिएका छन् ।

अमेरिका कोरोनाको नयाँ इपिसेन्टरका रुपमा विकास भएको छ भने न्यूयोर्कमा मात्रै ५२ हजारभन्दा बढी मानिसमा संक्रमण भएको जनाइएको छ ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाइरसको बढदो महामारी नियन्त्रणका लागि न्यूयोर्क र न्यु जर्सी राज्यसँगको यातायात सञ्जाल बन्द गर्ने बताएका छन् ।