काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यहि वैशाख ११ गतेभित्र काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसका लागि गएको चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी उनले गराए।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार राजधानीमा उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई २०७७ साल चैत १५ बाट क्रमिक रुपमा पुरानो र नयाँ दुवै प्रणालीबाट वितरण कार्य सुरु गरिएकोमा २०७८ असार १ र त्यसपछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगी आयोजना सञ्चालनमा अवरुद्ध भएको बताए। मेलम्ची खानेपानीको विकल्पको रुपमा मन्त्रालयले सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताउदै उनले खानेपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै लानुपर्नेमा जोड दिए।
कार्यक्रमका सभापति काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी यहि वैशाखभित्रै भक्तपुरमा पठाउनुपर्ने माग राखे। मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बोर्डले मेलम्चीको पानीको विकल्पको रुप सिस्नेरी आयेजनालाई अगाडि ल्याएको बताए। खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीबाट पानी पथान्तरणको कार्य हाल पूरा भएकोले उपत्यकाभित्र खानेपानी वितरणमा थप सहजता हुने बताए।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्