Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


केन्द्रमा मेल, स्थानीय तहमा बेमेल


156
Shares

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा तालमेलका लागि सोमबारसम्म महानगरपालिका र नगरपालिकाको भागबन्डा मिलाउने तयारी गरे पनि ती पार्टीका स्थानीय तहका समितिमा भने समस्या उत्पन्न भएको छ।स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा नमिलेपछि समस्या उत्पन्न भएको हो। केन्द्रमा गठबन्धन दलका शीर्ष नेताहरूले चुनावी तालमेल गर्ने भने पनि त्यसलाई स्थानीय तहका नेता–कार्यकर्ताले अस्वीकार गरेको अवस्था छ। माओवादी केन्द्रले यसअघि जितेका सबै स्थानीय तहमा आफ्नो दाबी गरेको छ। कांग्रेसले पनि यसअघि जितेका र निकट भएर हारेका स्थानीय तहमा पनि दाबी गरेको छ।

त्यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले पनि यस्तैखाले दाबी गरेको छ। कांग्रेस र माओवादी दुवैले नेकपा एसलाई सहयोग गर्ने अवस्था भए पनि केही खास स्थानमा भने असहयोग हुने अवस्था रहेको छ। धेरै स्थानमा कांग्रेस र माओवादी दुवैले आ–आफ्नो अडान छाडेका छैनन्। भरतपुर महानगरपालिका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संसदीय निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भएका कारण पनि प्रतिष्ठाको विषय बनिरहेको छ। तर कांग्रेस भरतपुरका कार्यकर्ताले सधैं भोट अर्को पार्टीलाई हाल्दा आफ्नो अस्तित्व रक्षा नहुने भन्दै भरतपुरमा यसपटक स्वतन्त्र भए पनि उम्मेदवारी दिने धम्की दिइरहेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावमा तालमेल राष्ट्रिय आवश्यकता भएको बताइरहेका छन्। धेरैजसो स्थानमा माओवादीकै नेता–कार्यकर्ताले तालमेल नगर्ने भनिरहेका छन्। केही स्थानमा कांग्रेस नेताहरूले छाड्न नसक्ने बताइरहेका छन्। दाहालले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुनेगरी केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन्। पूर्व र पश्चिमका धेरै जिल्लामा माओवादी नेताहरूले गठबन्धन नगर्ने रिपोर्टिङ गरेपछि कांग्रेसले पनि आफ्नो पकड क्षेत्रमा माओवादीलाई नछाड्ने भएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भरतपुरलगायतका स्थानीय तहमा मिलेर जानुपर्ने अभिव्यक्ति दिएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।