Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


महाभियोग दर्ताका कागजात पेश गर्न आदेश


312
Shares

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। जबरालाई महाभियोग दर्ता गर्नु गलत भएकाले काममा फर्काउन माग गर्दै दर्ता गरेको रिट निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले कागजात पेश गर्न आदेश गरेको छ। प्रधानन्यायाधीशलाई महाभियोग लगाउनु गलत भएको भन्दै संघीय संसद् सचिवालयविरुद्ध सर्वोच्च अदालतमा फागुन ११ मा रिट निवेदन दर्ता भएको थियो।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, तेजबहादुर केसीको संवैधानिक इजलासले महाभियोग दर्ता गर्दा पेस भएका कागजात मगाएको छ। पुण्यप्रसाद खतिवडासमेतले दर्ता गरेको रिट निवदेनमा ‘अन्य’ आदेश गर्दै कागजात झिकाउने आदेश गरेको हो।

संघीय संसद्विरुद्ध परेको रिट निवेदनमा प्रधानन्यायाधीशलाई महाभियोग दर्ता गर्नु गलत रहेकाले बदर गर्न माग गरेका थिए। महाभियोग असंवैधानिक भएको भन्दै अन्तरिम आदेश मार्फत काममा फर्काउन माग गरेका थिए। गत फागुन १ मा प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।