Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


थप ८० अर्ब अमेरिकी अनुदान


3.4k
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत करिब ६० अर्ब अनुदान सहयोग गर्ने निर्णय गरेको अमेरिकाले करिब ८० अर्ब रूपैयाँ थप अनुदान दिने भएको छ। नेपालको शिक्षा, स्वास्थ्य, स्वास्थ्य, मानवीय विकास, प्राकृतिक सम्पदाको संरक्षणलगायत क्षेत्रको विकासका लागि अनुदान दिन लागिएको हो। अमेरिकाले विगतदेखि नै युएसएआइडीमार्फत अनुदान सहायता उपलब्ध गराउँदै आएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय ((एसएआइडी) मार्फत ६ सय ५९ मिलियन डलर ९७९ अर्ब ७१ करोड रूपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो। सन् २०२२ देखि २०२७ सम्म विभिन्न कार्यक्रमका लागि यो रकम खर्च हुनेछ।

मानवीय विकाससहित विभिन्न क्षेत्रमा खर्च गर्नेगरी अनुदान लिन लागिएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्यालले बताए। ‘यो फ्रेमवर्क एग्रिमेन्ट हो,’ अर्यालले भने, ‘पाँच वर्षका लागि अमेरिकी सरकारले ६ सय ५९ मिलियन डलर अनुदान उपलब्ध गराउने भएको छ।’ यो रकम बजेट प्रणालीबाट खर्च हुने अर्यालले बताए। विभिन्न मन्त्रालयसँगको समन्वयमा आगामी आर्थिक वर्षको बजेटबाट रकम खर्च हुने उनले बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।