Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कालोबजारी सिर्जना गरे ११४९ मा फोन गर्न अनुरोध


0
Shares

काठमाडौं, चैत १३ । सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको चाल पाए टोल फ्रि नम्बर ११४९ नम्बरमा फोन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

‘कोभिड–१९’ फैलने सम्भावनालाई मध्यनगर गरी यही चैत ११ गतेदेखि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको अवस्थामा उपभोक्तामा सहज आपूर्तिको व्यवस्था गर्न सरकारले व्यवसायीलाई आग्रह गरेको छ ।

‘कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरीजस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुको अभाव पार्ने गरेको देखिएमा तत्कालै खबर गर्न अनुरोध छ’–गृह मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वर्तमान जटिल घडीमा कुनै समस्या परे त्यसको समाधानका लागि गृह मन्त्रालयको कुनैपनि शुल्क नलाग्ने र २४ सै घन्टा उठ्ने टोल फ्रि नम्बर ११४९ मा फोन गर्न आग्रह गरिएको छ ।

नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यवस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बिहीबार बसेको बैठकले विभिन्न छबुँदे निर्णय गर्दै काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तु सबै विक्रेताले आ–आफ्ना ‘डेलिभरी’ सवारीमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

त्यसका लागि सवारी पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।

पसल सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्नेछ ।

माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न सबै विक्रेताले आ–आफ्नो नम्बर उपलब्ध गराइ प्रचारप्रसार गर्नसमेत भनिएको छ ।

फोन, अनलाइन र अफलाइनमार्फत् माग संकलन गरी आवश्यक दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्न व्यवसायीलाई अनुरोध गरिएको छ ।

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न/गराउन सबै वडा कार्यालयबाट आवश्यक सहजीकरण गर्ने/गराउने व्यवस्था काठमाडौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका तथा नगरपालिकाले मिलाउने जनाइएको छ ।

उपत्यकाबाहिर रहेका अत्यावश्यक वस्तुका हकमा विक्रेताले आवश्यक व्यवस्था मिलाइ आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले सहयोग गर्ने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । रासस