काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै सरकार र प्रतिपक्षी दलबीच जुहारी चलेको छ। नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले सरकारले अर्थतन्त्र बिगारेको आरोप लगाएको भोलिपल्ट अर्थमन्त्री जनार्दन शर्माले त्यसको प्रतिवाद गरेका छन्।
अर्थमन्त्री शर्माले अर्थतन्त्रमा असन्तुलन आउनुमा गभर्नर अधिकारीलाई दोषी देखाए। उनले वित्तीय सूचकमा समस्या आउन सक्ने केही संकेत देखिएपछि राष्ट्र बैंकलाई निर्देशन दिए पनि रोकथामका उपाय अवलम्बन नगर्दा समस्या सिर्जना भएको बताए। ‘तर प्रतिपक्षी दल एमालेले आरोप लगाए जस्तो अर्थतन्त्र संकटमा छैन,’ उनले भने।
आफूले निर्देशन दिँदा पनि गभर्नरले चासो नदिएको शर्माले संकेत गरे। कर्जा प्रवाहमा कडाइ गर्न समयमै गभर्नर अधिकारीलाई निर्देशन दिए पनि बेवास्ता गरेको आरोप शर्माले लगाए। कर्जा प्रवाह १९ प्रतिशत हुँदा नियन्त्रण गर्न निर्देशन दिँदा राष्ट्र बैंकको नेतृत्वले बेवास्ता गरेको जिकिर उनले गरे। ‘मौद्रिक नीतिमा कर्जा प्रवाहको लक्ष्य १९ प्रतिशत राखिएको छ,’ शर्माले भने, ‘नियन्त्रण गर्न आग्रह गर्दा सुनुवाइ भएन। ३२ प्रतिशत पुग्यो।’ तोकिएको भन्दा बढी कर्जा विस्तार हुँदा समस्या भएको उनको दाबी छ। सहुलियतपूर्ण कर्जामा पनि अनियमितता भएको हुनसक्ने भन्दा त्यसमा पनि राष्ट्र बैंकका अधिकारीले बेवास्ता गरेको उनले बताए।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्