
काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलले चैत ३० गतेभित्र सहकार्यको भावना अनुसार तालमेलको टुंगो लगाउन प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिएका छन्। कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको स्थानीय निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेशहरूलाई स्थानीय आवश्यकता र गठबन्धनको भावनाअनुसार तालमेलको टुंगो लगाउन निर्देशन दिएको हो।
बैठकपछि समितिले प्रदेश र जिल्लाले २०७८ चैत मसान्ताभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरी केन्द्रमा पठाउन भनेको छ। केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको मर्म, भावनाअनुसार नै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलको निर्णय लिन पनि प्रदेश समितिलाई आग्रह गर्ने निर्णय भएको छ।
सोमबार बिहान ९ बजे बस्ने पाँच राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूबीच चुनावी तालमेल गरेर जानेसहितका विषयमा आमजनतालाई अपिल गर्ने तयारी छ। बिहानको बैठकपछि नै उनीहरूले संयुक्त अपिल जारी गर्ने सम्भावना बढी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ










प्रतिक्रिया दिनुहोस्