Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


मन्त्रिपरिषद् पाँचौं पटक हेरफेर


780
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसअघि गैरसांसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका थिए। कांग्रेस नेता हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (हाल निलम्बित) को सिफारिसमा मन्त्री बनाएको भन्दै आलोचना भएको थियो। आलोचना भएपछि मन्त्रीमा नियुक्त भएको २४ घण्टा पनि बित्न नपाउँदै हमालले राजीनामा दिएका थिए। त्यसपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा स्वयंले हेर्दै आएका थिए।

कांग्रेस संस्थापन इतर समूहको सिफारिसमा कानुनमन्त्री भएका बडुलाई मन्त्रिपरिषद् विस्तारसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोकिएको हो। यसअघि प्रधानमन्त्री देउवाले असार २९, साउन १०, असोज ६ र २२ गते मन्त्रिपरिषद् गठन, विस्तार र कार्यविभाजन गरेका थिए। कतिपय मन्त्रीको कार्यसम्पादनप्रति प्रधानमन्त्री देउवा असन्तुष्ट छन्। केही मन्त्रीको जिम्मेवारी खोस्ने र केही नयाँलाई सरकारमा ल्याउने पक्षमा रहेका देउवाले रक्षा मन्त्रालय आफैंले हेर्दै आएका छन्।

पार्टीको १४औं महाधिवेशनमा देउवा इतर समूहबाट महामन्त्रीको प्रत्यासी बनेका मीनेन्द्र रिजालले निर्वाचन परिणाम आफूअनुकूल नआएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए। कानुनमन्त्रीका रूपमा बन्दीले शपथ लिएसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ। बडु र बन्दी दुवैले बिहीबारै जिम्मेवारी समालेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।