काठमाडौं । प्रतिनिधि सभाको सांसद नै नरहेका अधिवक्ता गोविन्द शर्मा कोइराला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् । सांसद नभए पनि मन्त्री बन्न सफल कोइराला कानुन क्षेत्रमा गोविन्दबन्दीका नामले परिचित छन् । उनी बढीमा ६ महिनाका लागि मन्त्रीमा नियुक्त भएका हुन् ।
उनी नेकपा (एकीकृत समाजवादी) निकट कानुन व्यवसायी हुन् । सर्वोच्च अदालतको परमादेशबाट गठन भएको वर्तमान सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई पुरस्कारस्वरूप मन्त्री बनाइएको बताइएको छ । बन्दीलाई मन्त्री बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई दबाब दिँदै आएको स्रोतको दाबी छ । गृह जिल्ला दैलेख भएका बन्दीलाई अध्यक्ष नेपालका सम्धी सोमप्रसाद पाण्डेको दबावमा मन्त्री बनाइएको स्रोतको दाबी छ । बन्दी पाण्डेको पारिवारिक नातासमेत पर्ने बताइएको छ ।
लामो समय कानुन व्यवसायीका रूपमा काम गरेका बन्दीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गराउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसैगरी, कानुनमन्त्रीको जिम्मेवारीमा रहेका दिलेन्द्रप्रसाद बढुलाई भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पछि दोस्रोपटक गैरसांसदलाई मन्त्रीमा नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्