Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन


728
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेता पौडेल नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य रहेका छन् । यस्तै माओवादीबाट वर्षमान पुन र देवप्रसाद गुरूङ सदस्य छन् भने एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल छन् । जसपाबाट अशोक राई र रेणु यादव रहेको समितिमा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन् ।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तर्कृयाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको छ ।

यसैगरी, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ समेत गर्नुभएका थियो । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष गठबन्धनले निकालेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए ।