Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


ट्रकको ठक्करबाट बनेपामा बाबुछोराको मृत्यु, आमा घाइते


0
Shares

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नंको  मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उनको पाँच  वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् ।

एकै परिवारका पति, पत्नी र छोरा सवार रहेका मध्ये घाइते सुनिता श्रेष्ठको सोही  अस्तालमा उपचार भइरहेको र   मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ । रासस