Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नवलपरासीका नाका बन्द


0
Shares

नवलपरासी, चैत ८ । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीका नाकाहरु बन्द गरिएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहन जिल्लाका प्रमुख चार नाकासहित सहायक नाकाहरुसमेत बन्द गरिएको हो ।

अत्यावश्यक कामबाहेक आवतजावत गर्ने दुवै देशका नागरिकलाई आवतजावतमा रोक लगाइएको छ ।

भारतलेसमेत नाकाहरुमा आवतजावतमा कडाइ गरेपछि शनिबारदेखि नेपालतर्फका नाका बन्द गरिएको हो ।

अत्यावश्यक काममा भारत जाने नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले सीमानाकामा स्वास्थ्य परीक्षण गरेर जान दिएका छन् ।

त्यस्तै, नेपाल आउने भारतीयहरुलाई कामको प्रकृति सोधेरमात्र नेपाल आउन दिइएको छ ।

नेपाल आउने नेपालीहरुलाई भने भारतीय सुरक्षाकर्मीहरुले निर्वाध आउन दिएका छन् ।

नेपाली सुरक्षाकर्मीहरुले भने औषधि उपचार, विवाहलगायतका अत्यावश्यक कामबाहेक भारत जाने नेपालीहरुलाई रोक लगाएका छन् ।

भारतबाट आउने नेपालीहरुलाई सीमानाकामा रहेका ‘हेल्थ डेस्क’मा परीक्षण गरेरमात्र आउन दिइएको छ ।

दुवै देशले अत्यावश्यक सवारी–साधनबाहेक अन्य सवारी–साधनमा समेत रोक लगाएका छन् ।

भारतमा संक्रमण देखिएपछि नाकाबाट आवतजावत हुँदा कुनैपनि बखत संक्रमण भित्रिन सक्ने भएकाले सजगता अपनाउन आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए ।