कञ्चनपुर, चैत ८ । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकीबाहेकका सीमानाका बन्द गरिएका छन् ।
आवतजावतका लागि प्रयोग हुँदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी र पुर्नावासलगायत क्षेत्रका सीमानाका बन्द गरिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शनिबार बसेको समन्वय समितिको बैठकले गड्डाचौकी नाकाबाहेकका नाकामा हुने आवागमनलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो ।
गड्डाचौकी नाकामा गरिने स्वास्थ्य जाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, सवारी–साधनको आवतजावतलाई तत्काल रोक्ने र नेपाल भित्रिने सबै पैदलयात्रीको विवरण टिपोट गरी थप स्वास्थ्य सल्लाहपछिमात्र नेपाल भित्रिनसक्ने व्यवस्था मिलाउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।
बैठकले महाकाली अस्पतालको ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा राख्न र यसका लागि आवश्यक यन्त्र उपकरण तथा स्वास्थ्यकर्मीसमेत तयारी हालतमा राख्ने निर्णय गरेको उनले बताए ।
जिल्लाका सबै स्वास्थ्य संस्थामा कार्यरत् स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
यसका लागि सबै स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य कार्यालयले आवश्यकताअनुसार स्वास्थ्यकर्मीलाई कुनैपनि स्थानमा खटाउन सकिने निर्णय गरिएको छ ।
आपत्कालीन अवस्थामा तत्काल प्रयोग गर्न सकिने गरी एम्बुलेन्स तयारी अवस्थामा राख्ने र जिल्लाभरका सबै एम्बुलेन्सलाई आलोपालोरुपमा चौबिसै घन्टा तयारी अवस्थामा रहने व्यवस्था स्वास्थ्य कार्यालय कञ्चनपुरले मिलाउने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।
बैठकले कोरोना संक्रमण रोकथामको कार्यका लागि गड्डाचौकी नाकासहित अन्य स्थानमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको विवरण र काम गरेको अवधिसमेत सम्बन्धित निकायले प्रमाणित गरी हरेक दिन अध्यावधिक गरी राख्ने, आलोपालो पद्धतिमा काममा लगाउने र अभाव हुन नपाउने गरी सबै निकायले योजना साथ जनशक्ति खटाउने निर्णय पनि गरिएको छ ।
त्यस्तै, भीमदत्त नगरपालिका–४ स्थित सीएमए छात्रावास भवन र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पुरानो भवनलाई तत्काल ‘क्वारेन्टाइन’स्थलका रुपमा प्रयोग गर्न सकिने गरी मर्मत–सम्भार गरेर तयारी हालतमा राख्न आवश्यक बजेट व्यवस्थाका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गर्ने निaर्णय गरिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्