१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


म माथि सिंगो राष्ट्रको जिम्मेवारी छ : अध्यक्ष दाहाल

भरतपुरको विकास देखेर विदेशी समेत अचम्मित बनेकाे दाबी

988
Shares

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि सिंगो राष्ट्रको जिम्मेवारी रहेको बताउनुभएको छ ।

भरतपुर महानगरको प्रशासनिक भवनको शिलान्यास गर्दै अध्यक्ष दाहालले देशलाई संकट परेको अवस्थामा आफू नै सक्रिय हुनुपर्ने भएकाले यस्तो महसुस भएको बताउनुभयो ।

‘दुई पटक प्रधानमन्त्री र अहिले नेकपा माओवादी केन्द्रको अध्यक्ष भए पनि सिंगो राष्ट्रको जिम्मेवारी आफूमा रहेको हो की भन्ने भएको छ,’ उहाँले भन्नुभयो ।

कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सम्झना गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई गति दिन र सही ट्र्याकमा हिँडाउन आफूनै चाहिने दाबी गर्नुभयो ।

९४ करोड ३२ लाख ३० हजार २७१ रुपैया अनुमानित लागतमा निर्माण हुने भवनको शिलान्यास गर्दै दाहालले भरतपुरको विकास देखेर विदेशी समेत अचम्मित बनेको बताउनुभयो ।

मेयरको नेतृत्वमा भएका विकास निर्माणका कार्यहरूबारे खुलेर प्रशंसा गर्न उहाँको आग्रह थियो । भरतपुरमा धेरै विकास भएको भन्दै अब आउने नेतृत्व अझ बढी कार्य गर्न सक्ने आउनसक्नुपर्ने बताउँदै गठन्धन अपरिहार्य भएको बताउनुभयो ।

सम्झौता भएको मितिले ३० महिना भित्र सक्ने गरी बोलपत्र आह्वान भएको महानगरका आर्थिक प्रशासन प्रमुख जगन्नाथ अर्यालले बताउनुभयो । अत्याधुनिक भवन ५० गाडी र २५० वटा मोटरसाइकल अट्ने अन्डर ग्राउण्ड पार्किङसहित ६ तलाको हुनेछ ।

भवनमा दुईवटा लिफ्ट, सांस्कृतिक हल, पुस्तकालय, अपाङ्ग मैत्री पुर्वाधार रहनेछन् । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक विश्राम कक्ष समेत रहने गरी अत्याधुनिक सुविधा सहितको सेवाग्राही मैत्री भवन निर्माण थालिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्दु सुवेदीले जानकारी दिनुभयो ।

भवनमा १ सय ५८ वटा सानाठूला कार्य कक्ष रहने छन् भने २ सय २१ वटा कोठाहरू रहने छन् । भवनका हरेक तलामा अपाङ्गमैत्री शौचालय सहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलग्गै शौचालय रहने छ ।