प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज)
काठमाडौं, चैत ५ । यस वर्षको विद्यालयस्तरीय (एसइई) परीक्षा बिहीबार (भोलि)देखि सञ्चालन हुँदैछ ।
बिहान ८ बजेदेखि सुरु हुने परीक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
‘कोरोनाभाइरस’ संक्रमणको जोखिम बढ्दै गएका बेला हुन लागेको परीक्षामा स्वास्थ्य परीक्षणपछिमात्र परीक्षामा सामेल गराइने छ ।
एसइई परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरण बनाइएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कोरोनाभाइरसको सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउँदै एसइई परीक्षा सञ्चालन हुने जनाएको छ ।
परीक्षा सञ्चालनमा उच्च सुरक्षासहित स्वास्थ्यमा विशेष ध्यान दिइने बताइएको छ ।
चैत ६ देखि १४ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले प्रत्येक परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना गरिने जनाएको छ ।
यस वर्ष दुई लाख ३९ हजार ९१ छात्र र दुई लाख ४३ हजार ६१६ जना छात्रा गरी चार लाख ८२ हजार २१९ विद्यार्थी परीक्षामा सामेल हुँदैछन् । परीक्षाका लागि एक हजार ९९५ ओटा परीक्षा केन्द्र ताकिएको छ ।
दिनहुँ स्वास्थ्य परीक्षण गरेरमात्र विद्यार्थीलाई परीक्षामा सामेल गराइने भएकाले ढुक्क भएर परीक्षामा सहभागी हुन परीक्षा नियन्त्रक रामराज खकुरेलले आग्रह गरे ।
‘भाइरल इन्फेक्सन’ र रुघाखोकी लागेका व्यक्तिलाई छुट्टै परीक्षा दिन ‘आइसोलेसन’ कक्षाकोठासमेत छुट्याइने परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
यस्तै, प्रश्नपत्र आउट नहोस् भन्नेमा समेत विशेष सतर्कता अपनाइएको परीक्षा नियन्त्रक खकुरेलले बताए ।
परीक्षाका लागि सुरक्षाकर्मी, स्वयंसेविका गरी करिब ६५ हजार व्यक्ति खटाइने परीक्षा बोर्डले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्