Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेपाल-भारत सीमांकनको विषयमा विवाद चर्कियो, ७० विघा बढी जमिन भारततिर परेपछि तनाव


0
Shares

-दुर्गा उपाध्याय/ईमेज

कञ्चनपुर । नेपाल–भारत संयुक्त सर्भे टोलीले कञ्चनपुरमा गरिरहेको सीमाको नक्शांकनको कामलाई लिएर विवाद उत्पन्न भएको छ ।

नेपाली पक्षले २०२४ सालदेखि भोगचलन गर्दै आएको जमिन एकाएक सीमा नक्शांकनका क्रममा भारतमा परेपछि सीमा विवाद झनै चर्किँदै गएको हो ।

नेपाल र भारतको संयुक्त सर्भे टोलीले सीमा नक्सांकनको काम जारी राखेको छ ।

टोलीले यसवर्ष कैलालीको खक्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्म नयाँ सीमास्तम्भ निर्माण र मर्मत जिम्मा पाएको थियो ।

टोलीले दुई महिनादेखि कञ्चनपुरको विवादित क्षेत्र बेलौरी र बेल्डाँडीमा नापी र नक्सांकनको काम गरिरहेको थियो ।

यसै क्रममा बेलौरी नगरपालिका १० स्थित झण्डै ४० परिवारको जग्गाधनी दर्ता प्रमाण पूर्जा भएको ७० विघा बढी जमिन भारतमा परेको छ ।

त्यतिमात्रै होइन, विश्व बैंकको सहयोगमा निर्माण गरिएको महाकाली सिंचाइको नहरमा समेत सीमास्तम्भ बनाउन रेखाङ्कन गरिएपछि स्थानीयबासिन्दा आश्चर्यमा परेका छन् ।

२०६० सालमा नापी विभागबाट खटाइएका मधुकर मास्केसहितको संयुक्त टोलीले बनाएको ‘स्ट्रीप म्याप’ का आधारमा नापी गर्ने क्रममा सो जमिन भारतमा परेको हो ।

उक्त टोलीको लापरबाहीका कारण नेपाली भूमि भारतमा परेको स्थानीय मानबहादुर चौधरीको आरोप छ ।

यसअघि टोलीले सम्पूर्ण सीमास्तम्भको अवलोकन गरे पनि कञ्चनपुरमा दुई महिनादेखि स्तम्भ निर्माणको काम भइरहेको छ ।

तर, सीमा नक्सांकनको कामले विवाद सुल्झिनुको साटो झनै चर्किदै गइरहेको छ ।

स्थानीयले सर्भे टोलीले गलत बिन्दु प्रयोग गरेर काम गर्दा विवाद भएको बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाको भनाइ छ ।

गलत ठाउँमा सीमांकन गरिएको भन्दै आक्रोशित स्थानीयले एउटा सहायक सीमास्तम्भ भत्काउनुका साथै स्तम्भ गाड्न बनाएका खाल्डासमेत पुरिदिएका छन् ।

यता कञ्चनपुरका  प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा भने नक्शांकनको काम गर्ने वातावरण नभएकाले तत्कालका लागि काम स्थगित गरिएको र माथिल्लो निकायको निर्देशन पर्खिएको धारणा राखे ।

यस विषयलाई उच्चस्तरीय तहबाटै समाधानको बाटो पहिल्याउनुपर्ने देखिन्छ ।