Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बाँदरले बाली सखापः परिवार नियोजन गर्न माग


0
Shares

खोटाङ । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्‍यालीमा उत्रेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित र्‍याली प्रदर्शन गरेका हुन् ।

‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट शुरु भएको विरोध र्‍याली त्रिवेणीचोक हुँदै नगरपालिका पुगेको थियो ।

र्‍यालीपछि सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै सहभागीले बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने व्यवस्था मिलाउन आवश्यक बजेटको समेत माग गरेका थिए ।

गत फागुन १९ गते दिक्तेलमा भएको बाँदर पीडित किसानको भेलाले नगरपालिलाई ज्ञापनपत्र दिने निर्णय गरेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

ती किसानले गत मङ्सिर २९ गते बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर बाँदर नियन्त्रण गर्न नगरपालिकालाई गुहारेका थिए ।रासस