Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


जि.पि. कोइराला फाउण्डेशन भक्तपुरले गिरिजाप्रसादको १२ औं स्मृति दिवस मनाउने


845
Shares

भक्तपुर । जि.पि. कोइराला फाउण्डेशन भक्तपुरले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस मनाउने भएको छ । चैत ७ गते सोमबार कोइरालाको स्मृति दिवसकाे अवसरमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिने फाउण्डेशन भक्तपुरका अध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रम बिहान ७ बजेदेखि नेपाली कांग्रेस भक्तपुरको पार्टी कार्यालयमा सुरु हुने उहाँले बताउनुभयो ।

अन्तर्क्रियामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगाना, ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत भक्तपुरका लागि केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य जितजंग बस्नेत, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा लगायतकाे उपस्थिति रहने छ ।

२०४७ सालको आन्दोलन, २०६२/६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उहाँको विशेष योगदान रहेको छ ।

गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । जहानियाँ राणा शासनको विरोध गरेको कारण निर्वासन रहनुभएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको कान्छो छोराको रुपमा गिरिजाप्रसादको जन्म भएको थियो ।

गिरिजाप्रसाद कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री हुनुभयो भने चार कार्यकाल पार्टी सभापति हुनुभयो। कोइरालाको ८५ वर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।