-सीता पाण्डेय /ईमेज
पाल्पा । खानेपानी सहज उपलब्ध नहुँदा वर्षौदेखि सास्ती खेप्दै आएका पाल्पाको पूर्वखोला गाउँपालिका वलङ्दीका स्थानीयवासी अहिले उत्साहित बनेका छन् ।
एक गाग्रो पानीका लागि ३ घन्टा लगाउनुपर्ने बाध्यताका उनीहरुमा अहिले घरको आगनमै पानीको धारा बनेपछि खुसीको सीमा नै छैन ।
पाल्पाको पूर्वखोला गाउँपालिका ५ को वलङदीमा १ सय १५ घरपरिवारको बसोबास छ । बस्तीदेखि निकै तल मात्र पानीको मुहान भएका कारण उनीहरुलाई खानेपानीको समस्या सम्बोधन होला भन्ने कल्पनासमेत थिएन ।
एक गाग्री पानी संकलन गर्न २-३ घण्टाको समय खर्चिनुपर्ने भएकाले गाउँलेहरु निकै कष्टकर जीवन बिताइरहेका थिए ।
यहीँ समस्याका कारण गाउँबाट बसाइ सर्ने क्रम पनि बढिरहेको थियो । तर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको पहलमा सबैका घरघरमा खानेपानीको व्यवस्थापन भएपछि भने यहाँका बासिन्दाले सुखका दिन आएको अनुभव गर्न थालेका छन् ।
जीवनका अनगिन्ती समस्याका बीच पनि खानेपानीको व्यवस्थापनलाई उनीहरुले निकै महत्वपूर्ण उपलब्धिका रुपमा लिएका छन् ।
सबैको घर घरमा खानेपानीको व्यवस्थापन भएपछि खानेपानीको सुविधा मात्र नभई व्यक्तिगत सरसफाइमा समेत सुधार भएको छ ।
गाउँमा एक घर एक धारा बनेका कारण अहिले सबैका घर–घरमा पक्की शौचालयको निर्माण भएको स्थानीय महिला शान्ति सिंजालीको भनाइ छ ।
गाउँमा पानीको प्रबन्ध भएपछि घरघरमा सबैले तरकारीखेती गरेर गाउँ नै हरियाली बनाएका छन् । तरकारी बिक्रीबाट उनीहरुको आयस्तरमा समेत केही सुधार आएको छ ।
पानीको समस्याका कारण गाउँ छाड्ने क्रम तीव्र रुपमा बढेकाले अब भने त्यो क्रम रोकिने खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीर बहादुर सिंजालीको विश्वास छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट १ करोड ३४ लाख ६० हजार र स्थानीय उपभोक्ताको २६ लाख ४४ हजार रुपैयाँबाट योजना सम्पन्न भएको हो ।
योजनाबाट १ सय १५ घर परिवारका ८ सय भन्दा बढी जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्