
पोखरा, चैत १ । पोखरामा सम्पन्न १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ‘टाइब्रेकर’मा ४–३ गोल अन्तरले स्तब्ध बनाउँदै मनाङले उपाधि जितेको हो ।
उपाधिसँगै मनाङले १० लाख एक हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले पाँच लाख एक हजार रुपैयाँ पाएको छ ।
टाइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे । मनाङका निशान लिम्बूको प्रहार पुलिसका किपर रोशन खड्काले बचाए ।
पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरे । पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका किपर अशोक बरालले बचाए ।
त्यसअघि, खेलको निर्धारित् समय र अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएको थियो ।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्