Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


शिक्षामन्त्रालय संविधान विपरित बाटोमा लाग्यो : राधेश्याम अधिकारी


260
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरित बाटोमा गएको आरोप लगाउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको बेठकमा बोल्दै नेता अधिकारीले सो बताउनुभएको हो ।

उहाँले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको आरोप समेत लगाउनुभयो । उहाँले आधारभुत शिक्षा र स्वास्थ्यको विकास नभइकन मुलुकको उन्नती नहुने पनि बताउनुभयो ।

नेता अधिकारीले संघीय शिक्षा ऐनको विधेयक समितिमा ल्याउन प्रस्ताव गर्नुभयो । नेता अधिकारीले आधारभुत र माध्यामिक शिक्षाको सन्दर्भमा संघीय शिक्षा ऐन नल्याए आधारभुत शिक्षा र स्वास्थ्यको कुरा अलपत्र पर्ने बताउनुभयो ।

उहाँले संघीय शिक्षा विधेयक ल्याउन ढिला भइसकेको भन्दै संघीय शिक्षा विधेयक ल्याउँदा पाठ्यक्रमको एकरुपता, शिक्षकको योग्यता, शिक्षकको योग्यता प्रमाणित गर्ने निकाय, देशभर एकै किसिमको परीक्षण गर्ने विधि समावेश गरेर मात्रै ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

नेता अधिकारीले स्वास्थ्य क्षेत्रको सुधारका लागि संघीय सरकारले अहिले भइरहेको स्वास्थ्य सेवा ऐन वा निजामती ऐनलाई संशोधन गरेर तत्काल नयाँ कानून बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले आधारभुत शिक्षा र आधारभुत स्वास्थ्य सबै नेपालीमा पुर्‍याउन ढिला भइसकेको समेत बताउनुभयो ।