२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


‘कोरोना’विरुद्ध एकजुट हुन सार्क राष्ट्राध्यक्षहरुलाई नरेन्द्र मोदीको अपील


0
Shares

काठमाडौं, फागुन ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर फैलिरहेको ‘कोरोनाभाइरस’ संक्रमणबाट बच्नका लागि दक्षिण एशियाली देशहरुलाई साझा रणनीति बनाउन अपील गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले कोरोनाभाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

मोदीले भिडिओ कन्फरेन्समार्फत् आवश्यक रणनीतिहरु आदान–प्रदान गरेर यस क्षेत्रका नागरिकलाई सुरक्षित राख्न सकिने पनि बताए ।

संकटको बेला सँगै उभिएर दुनियाँलाई उदाहरण पेश गर्न सकिने र विश्व स्वास्थ्यका लागि योगदानसमेत गर्न सकिने प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन् ।

भारतमा शुक्रबारसम्म कोरोनाभाइरसबाट ७५ जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

दक्षिण एशियाली क्षेत्रका ८ मुलुकमध्ये नेपालमा अहिलेसम्म यो भाइरस १ जनामा देखिएकोमा उनी निको भइसकेका छन् ।