दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)
काठमाडौं, फागुन २६ । सरकारले ‘कोरोनाभाइरस’को त्रास देखाउँदै होली पर्व नखेल्न उर्दी जारी गरे पनि मानिसहरुले हर्षोल्लासका साथ होली मनाएका छन् ।
विगत वर्षहरुमा झैं चोकैपिच्छे होली विशेष कार्यक्रमहरु नभएपनि स्वतःस्फूर्तरुपमा पर्व मनाउनेको भने कुनै कमी देखिएन ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोनाभाइरसका कारण प्रभावित हुने अनुमान गरिएको थियो ।
तर, नेपालीहरुले कोरोनाभाइरसको चुनौतीलाई लल्कार्दै होली खेलेका छन् ।
सरकारले ठूला सभा–समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाउँदै होलीमा समेत भेला हुने, भीडभाड गर्ने, लोला, पानी हान्ने, रङ दल्नेलगायतका गतिविधि नगर्न उर्दी जारी गरेको थियो ।
सरकारी उर्दीको बेवास्ता गर्दै ठाउँ–ठाउँमा होली खेल्ने जमातहरु मनग्गे भेटिन्थे ।
वसन्तपुरमा होली मनाउनेहरुको उत्साहमा कुनै कमी थिएन ।
विगतका वर्षहरुमा विभिन्न व्यापारिक घरानाहरुले प्रायोजन गरेका सांगीतिक कार्यक्रम पनि हुने गरेकोमा यसपटक त्यसको भने अभाव महसुस भयो ।
नेपालीहरुमात्र नभइ विदेशी पर्यटकहरु पनि होलिमा रमाएका थिए ।
उता, ललितपुरको पर्यटकीयस्थल मंगलबजारस्थित कृष्ण मन्दिर प्रांगणमा पनि होलीको माहौल उत्साहपूर्ण रह्यो ।
प्रहरीले भने सरकारको निर्देशनको पालना गराउन र होलीका दिनमा हुनसक्ने सम्भावित घटना कम गर्न काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा प्रहरी तैनाथ गरेको थियो भने सवारी चेकिङका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।
होलीको दिनको लागिमात्र २२ सय बढी प्रहरी परिचालन गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्