रोमन आचार्य, नवीन स्थापित, सानु माली र सुयेश मानन्धर (इमेज)
काठमाडौं, फागुन २६ । मुलुकमा वैकल्पिक राजनीतिक शक्ति बन्ने भन्दै विभिन्न नयाँ राजनीतिक समूहहरु उदाउने र पुराना दलहरु एकीकृत हुनेक्रम बढिरहेको छ ।
पछिल्लोपटक राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटक वैकल्पिक शक्ति बन्ने उद्घोषका साथ एक ठाउँमा उभिएका छन् ।
पटक–पटक फुट्ने अनि फेरि जुट्ने पहिचान बनाएका पूर्वपञ्चहरुको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीका घटकहरु फेरि एक हुन थालेका छन् ।
वैचारिकभन्दा व्यक्तिगत समस्याले दुई समूहमा रहेका कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राप्रपा (संयुक्त)बीच पार्टी एकताको आधारपत्रमा हस्ताक्षर भएको छ ।
करिब अढाई वर्षअघि तीन टुक्रामा विभाजित राप्रपाले स्थापनाकाल अर्थात् तीन दशकअघिदेखि नै वैकल्पिक शक्ति बन्ने भनिरहेको छ ।
वैकल्पिक राजनीतिक शक्ति बन्ने राप्रपाको चाहना हुनसक्छ । तर, उनै अनुहार र अजेन्डा बोकेको राजनीतिक दल वैकल्पिक शक्ति बन्छ भन्नु जनता झुक्याउने मेसो भएको ठान्छन्, राप्रपाका पुराना नेता केशरबहादुर विष्ट ।
सनातन हिन्दुधर्म र राजतन्त्रसहितको प्रजातन्त्र तथा उदारवादको वैचारिक सिद्धान्त लिएर राप्रपा एक हुँदैछ ।
मूल राजनीतिक दलको असफलताको लाभ लिन खोजे पनि राप्रपाले पटक–पटक वैकल्पिक शक्ति बन्ने अवसर गुमाउँदै आएको टिप्पणी गर्छन्, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी ।
यसरी जनविश्वास गुमाएको राजनीतिक दलले वैकल्पिक शक्तिको नारा लगाउँदैमा पत्याइहाल्ने अवस्था छैन ।
विगतमा सत्ता र शक्ति अनि व्यक्तिगत ‘इगो’का कारण टुक्रा–टुक्रामा विभाजित हुँदै आएको राप्रपा फेरि त्यही चक्रब्यूहमा नफस्ला भन्न सकिन्न ।
विवेकशील र साझाजस्ता नयाँ राजनीतिक पार्टीले वैकल्पिक शक्तिका रुपमा उदाउने होड गरिरहेको बेला परम्परागत शक्तिले स्थान पाउन हम्मे–हम्मे पर्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्