Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


विदेशीहरु रमाए होलीमा (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र योगेश लामा (इमेज)

काठमाडौं, फागुन २६ । विश्वमा महामारीको रुपमा फैलिएको ‘कोरोनाभाइरस’का कारण सरकारले यो वर्ष होली नखेल्न सर्वसाधारणलाई अपील गरेपछि विगतका वर्षहरुमाभन्दा यो वर्ष होली खेल्नेहरुको संख्यामा केही कमी आयो ।

तर, नेपाल घुम्न आएका पर्यटकहरु भने निश्चिन्त भएर काठमाडौंका पर्यटकीयस्थलहरुमा होली खेलिरहेको पाइयो ।

रिसराग सबै बिर्सिएर एकै रङमा बाँधिने चाड हो, होली । जसलाई हामी मेलमिलापको पर्व भन्दछौं ।

होलीमा नेपाली त रम्ने नै भए । तर, त्योभन्दा बढी रमाउँछन्, नेपाल घुम्न आएका विदेशी पर्यटक । सायद उनीहरुको संस्कार र संस्कृतिमा जीवनका यस्ता रङहरु कमै देखिने भएर होला !

हरेक वर्ष नेपालमा रहेका पर्यटक पनि रम्ने गरेको यस पर्वमा ‘कोरोनाभाइरस’को संक्रमणका डरले केही नेपाली सचेत रहेतापनि पर्यटकहरुका लागि भने यसले केही असर गरेन ।

नेपालमा अहिलेसम्म कुनै दुःखद् घटना नघटेर पनि होला, उनीहरु ढुक्क देखिन्थे ।

काठमाडौंको मुख्य सडक वसन्तपुरलगायत पर्यटकीय क्षेत्र ठमेलमा होली खेल्ने पर्यटकको संख्या उल्लेख्य मात्रामा थियो ।

नेपालीहरुसँग होली खेल्दै रमाइरहेका पर्यटकहरुमा एक प्रकारको उत्साह र उमंग देखिन्थ्यो ।

हरेक उमेर समूहका पर्यटकहरुले अनुहार नै ढाक्ने गरी रङ पोतेर एकापसमा होली खेलिरहँदा नेपालीहरुले पनि उनीहरुलाई साथ दिइरहेका थिए ।

धेरै पर्यटकहरुलाई होली पर्वको बारेमा पनि राम्रै ज्ञान रहेछ ।

हात–हातमा रङ बोकेर सडकमा होली मनाउँदै हिँडेका पर्यटकहरुलाई हेर्नेको पनि भीड लागेको थियो ।

एकाध पर्यटकहरु भने यस्तो पनि देखिन्थे, जसले यो पर्वमा सहभागी नभइ टाढैबाटमात्र नियाली रहेका थिए ।

विदेशी पर्यटक होलीमा रमेको देखेर नेपालीहरुले पनि उनीहरुसँग सद्भाव साटेको देख्दा होली पर्व साँच्ची नै एकापसमा माया र सद्भाव साटिने पर्व हो भन्ने पुष्टि हुन्छ ।

भिडियो हेर्नुहोस्