Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


छाउ गोठ भत्काउने अभियान प्रभावकारी भएन: महिलाहरु झन असुरक्षित


0
Shares

-दुर्गा उपाध्याय/ ईमेज  

कञ्चनपुर । सरकारले महिला हिंसा कम गर्ने उद्देश्यले छाउगोठ भत्काउने अभियान चलाए पनि यसबाट कतिपय महिला भने थप जोखिममा परेका छन् ।

छाउगोठ भत्काएपछि परिवारले महिनावारीका बेला खुल्ला आकाशमा सुत्नुपर्ने भएपछि कपितय महिला थप असुरक्षित बनेका हुन् ।

गृह मन्त्रालयले गत पुस ८ गते सुदूरपश्चिम र कर्णाली प्रदेशमा विद्यमान छाउप्रथा हटाउन सम्बन्धित जिल्ला प्रशासनमा निर्र्देेशनसहित पत्राचार गरेको थियो ।

मन्त्रालयको निर्देशनपछि धेरै जिल्लाहरुमा छाउगोठ भत्काउने काम भइसकेका छन् ।

जसका कारण कुनै ठाउँमा नयाँ सुविधासम्पन्न छाउगोठ निर्माण हुन थालेका छन् तर कतिपयले भने महिनावारीका बेला बाहिर खुल्ला ठाउँमै सुत्न लगाउने गरेकाले महिला झन् असुरक्षित बनेका हुन् ।

समन्वय नै नगरी छाउगोठहरु भत्काउँदा कतिपय महिलाहरु भने छाउगोठमा भन्दा पनि बढी जोखिम मोल्नुपर्ने अवस्थामा पुगेका हुन् ।

स्थानीयस्तरमा पर्याप्त चेतना फैलाउन नसक्दा कुनै कुनै परिवारका महिलाहरु घरभित्र सुत्न नपाएपछि आँगन तथा खेतमा सुत्न बाध्य भएका छन् ।

पूर्व तयारी विनै जबरजस्ती छाउगोठ भत्काएकाले कुनै मानवीय क्षति भए त्यसको जिम्मा पनि सरकारले नै लिनुपर्ने कञ्चनपुरका पीडित महिलाको भनाइ छ  ।

उसो त यो अभियानले कपितय ठाउँमा भने सकारात्मक प्रभाव पनि परेको छ ।

कोही घरभित्रै सुत्न थालेका छन् भने धेरैले नयाँ व्यवस्थित छाउगोठ बनाएपछि सहज र सुरक्षित भएको प्रतिक्रिया दिन थालेका छन् ।

छाउप्रथा एकैपटक नहट्ने भन्दै आफूहरुले व्यवस्थित छाउगोठ बनाउनका लागि पहल गर्दै आएको  कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीयको भनाइ छ ।

यता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि प्रसाद खतिवडा भने छाउगोठ भत्काएपछि महिलाहरु झनै असुरक्षित भएको भन्ने लिखित गुनासो आए सोही अनुसारको पहल गर्ने बताउँछन् ।

छाउप्रथा विरुद्ध आमनागरिकको  सोचमा परिवर्तन नगरेसम्म यो अभियानले पूर्ण रुपमा सार्थकता नपाउने देखिन्छ ।