बैतडी । लगातारको वर्षाका कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरी हिमपात भएको छ ।
बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै हिजो राती र आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो ।
खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च क्षेत्रमा हिमपात भएको हो ।
यो वर्ष लगातारको वर्षा र हिमपातले चिसो कम हुन नसकेको र जनजीवन कष्टकर भएको पाटन नगरपालिका ८ का स्थानीय बताउँछन् ।
चिसोको समयमा श्वासप्रश्वास र न्यूमोनिया जस्ता रोगहरु लाग्न सक्ने भएकाले यो बेला वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
यो वर्ष हिमपात र वर्षा नरोकिएपछि बेँसी क्षेत्रमा गहुँबालीमासमेत असर परेको छ ।
बेँसी क्षेत्रमा वर्षाका कारण गहुँबालीमा क्षति पुगेको किसानहरुले बताएका छन् ।
उता, हुम्लामा पनि भारी हिमपात भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ ।
हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ ।
जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात शुरु भएको हो ।
मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ ।
जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् ।
हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ ।









प्रतिक्रिया दिनुहोस्