Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


सवारी दुर्घटनामा दुईको मृत्यु, १८ घाइते


0
Shares

काठमाडौं । देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । 

महोत्तरीको बर्दिवास नगरपालिका–३  कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई सो स्थानमा विपरीत दिशाबाट आउँदै गरेको स १ च १८०६ नम्बरको टाटा पिकअपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए ।

बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै घाइते खत्रीको मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी रामेछाप मन्थली नगरपालिका–५ बस्ने ३८ वर्षीय रुद्रराज कार्की गम्भीर घाइते भएको र उनको उपचार बर्दिवासमा भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, चितवनको खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका–९ नमूना पेट्रोलपम्प अगाडि ठक्कर खाएको थियो ।

बसमा सवार ३४ मध्ये नौ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ ।

ठक्कर खाने दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको र बस चालक फरार रहेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

यस्तै, गोरखाको आरुघाट गाउँपालिका–१  र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सात घाइते भएका छन् ।

मृत्यु हुनेमा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

ग १ ज ५५०५ नम्बरको जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा परेको थियो ।

दुर्घटनामा आरुघाट गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएकोे प्रहरीले जनाएको छ ।

घाइते सबैको दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भइरहेको छ ।

घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ । रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइतेलाई केहीको थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।