नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
बाँके, फागुन २१ । पर्यटकीय महत्व बोकेको बाँके राष्ट्रिय निकुञ्जमा आशातीत पर्यटक आवागमन हुन सकेको छैन ।
देशका १०० ओटा पर्यटकीय गन्तव्य स्थलमा यो निकुञ्जलाई सरकारले ५७औं नम्बरमा सूचीकृत गरेको छ ।
यहाँ बाघको संख्या वृद्धि भइरहेको छ । तर, निकुञ्ज अन्य ठाउँभन्दा ओझेलमा परेको देखिन्छ ।
२०६७ वैशाख ३० गते सगरमाथा राष्ट्रिय निकुञ्जको कालापत्थरमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निकुञ्ज स्थापनाको निर्णय गरेसँगै निकुञ्ज सञ्चालनमा आएको हो ।
बाघको बासस्थान, चुरे र जैविकमार्ग संरक्षणको उद्देश्यले स्थापना भएको यो निकुञ्ज नजिकैको बर्दिया राष्ट्रिय निकुञ्जदेखि भारतको सिमानासम्म फैलिएको छ ।
बाघ र हात्तीसहित चौका, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई र भालुलगायतका जनावरको बासस्थानका रुपमा रहेको नेपालकै कान्छो राष्ट्रिय निकुञ्ज प्रचारप्रसारको अभावमा ओझेलमा परेको देखिन्छ ।
निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधारसहित वन्यजन्तु अवलोकनका लागि विभिन्न स्थानमा टावर निर्माण, जिप सफारी, पैदलयात्रा, हात्ती सफारी आदि सेवा उपलब्ध छन् । मध्यवर्ती क्षेत्रमा होमस्टे सञ्चालनमा ल्याइएको छ । गत पुसको दोस्रो सातादेखि हात्ती सफारीसमेत सुरु भयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई पर्यटन प्रवद्र्धनको प्रयास भइरहेको बताउँछन् ।
निकुञ्जमा खानेपानी र उचित व्यवस्थापन भएपछि बाघको संख्या पनि वृद्धि भएको छ ।
निकुञ्जको सुरक्षार्थ करिब ६०० सैनिक रहेको श्रीमेहर गण तैनाथ छ । गण प्रमुख जीवन शर्मा निकुञ्जमा पर्यटक आकर्षण गर्नेगरी विकासको कार्यमा सेनासमेत सक्रिय रहेको बताउँछन् ।
विश्वव्यापी रोगका रुपमा फैलिएको कोरोनाभाइरसका कारण पर्यटन वर्ष २०२० स्थगित भएको छ । यो अवस्थामा निकुञ्ज व्यवस्थापनले आन्तरिक पर्यटक आकर्षित गर्नुपर्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्