Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


‘सीसीटीभी’बाट ट्राफिक अनुगमन, नियम उल्लंघन गर्नेलाई घरमै पुगेर चिट थमाइँदै


0
Shares

दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)

काठमाडौं, फागुन २१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेहरूलाई ‘सीसीटीभी फुटेज’को आधारमा घरमै पुगेर चिट थमाउन थालेको छ ।

ट्राफिकको आँखा छलेर लेन मिच्ने, तीव्र गतिमा हाँक्ने वा अन्य कुनैपनि ट्राफिक नियम उल्लंघन गर्नेहरु अब उम्किन पाउने छैनन् ।

सीसीटीभी फुटेज हेरेर नियम उल्लंघन गर्नेलाई कारबाही गरिरहेको र अब मातहतका कार्यालयबाट चिट काटेर घरमै पुगेर गल्ती गर्नेहरुको निगरानी थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

अहिलेसम्ममा सात हजारजनालाई सीसीटीभी फुटेजको आधारमा कारबाही गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए ।

ट्राफिक प्रहरीकाअनुसार अहिले उपत्यकाका विभिन्न सडकहरूमा एक हजार ६८४ ओटा सीसी क्यामेरा जडान गरिएका छन् ।

महाशाखाले सीसी क्यामेराको फुटेज हेरेर दिनहुँ कहाँ–कहाँ ट्राफिक नियम उल्लंघन भएको छ भन्ने ठहर गरेर नम्बरप्लेटको आधारमा सवारीधनी पत्ता लगाएर फोन गर्न थालेको छ ।

अटेर गरेमा सवारीधनीको घरमै पुगेर गल्तीको चिट थमाउने र जरिवाना तिराउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार ६ महिनाको अवधिमा २० हजार ४५७ जनालाई मादकपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा कारबाही गरेको छ ।

अझै विभिन्न स्थानमा क्यामेरा जडान गर्ने र यो ट्राफिक उज्यालो अभियानलाई थप प्रभावकारी बनाएर लैजाने ट्राफिक प्रहरी महाशाखाले जानकारी गराएको छ ।

त्यस्तै, ट्राफिक प्रहरी महाशाखाले चोरी नियन्त्रण गर्न विशेष टोली नै बनाएको छ ।

भिडियो हेर्नुहोस्