भद्रपुर, फागुन २० । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत, पश्चिम बंगालको बागडोग्रामा मृत भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलकाअनुसार मंगलबार बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एसियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेलापारेको हो ।
झापाको मेचीनगर–१३, दुहागढी घर भएका उनले ८ वर्षदेखि ‘डिप्रेसन’को औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ ।
तीन दिनअघि दाह्री काट्न घरनजिकैको ‘चारआली बजार जान्छु’ भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।
उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ ।
नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।
वि.सं. २०२३ देखि कम्युनिस्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नम्बर–१ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट सभासद निर्वाचित भएका थिए ।
उनले झापा विद्रोहपछि पक्राउ परी ९ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए ।
भारतीय प्रहरीले उनी एसियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् । रासस









प्रतिक्रिया दिनुहोस्