काठमाडौं, फागुन १९ । सभामुख अग्नि सापकोटाले पेट्रोलियम पदार्थमा कर बढाउनुको कारणबारे सदनलाई जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकको सुरुमै समाजवादी पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
लगत्तै सभामुखले बोल्न समय दिएपछि समाजवादी पार्टीकी सांसद सरिता गिरीले सदन छलेर पेट्रोलियम पदार्थमा कर वृद्धि गर्नुको कारण माग गरिन् ।
सरकारले जवाफ नदिए सदनको काम–कारबाही अगाडि बढ्न नदिने सांसद गिरीको चेतावनीपछि सभामुख सापकोटाले संसदको ध्यानाकर्षण भएको बताएका थिए ।
विशेष समय
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
विशेष समयमा बोल्दै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले संविधान संशोधनमार्फत् तीन तहको संरचनालाई हटाएर दुई तहको संरचना कायम गर्न, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद र संसद नियन्त्रित राजसंस्था कायम गर्न माग गरे ।
राजपाका सांसद महेन्द्रराय यादवले जनसंख्याका आधारमा विकास बजेट विनियोजन गर्न माग गरे ।
कांग्रेसका सांसद दिव्यमणिराज भण्डारीले राजनीतिक आस्थाका आधारमा विभिन्न कान्डसँग जोडेर विपक्षी दलका नेताको चरित्रहत्या गर्ने काम रोक्न माग गरे ।
यस्तै, कांग्रेसका सांसद अहतर कमाल मुसलमानले नेकपा अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहारको प्रयास भएकोप्रति संकेत गर्दै यस्ता प्रवृत्ति रोक्न र यस्ता घटना बढ्दै गए लोकतन्त्र धरापमा पर्ने बताए ।
बैठकको विशेष र शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले ‘कोरोनाभाइरस’को सम्भावित जोखिमलाई मध्यनजर गरेर आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्