Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


थप बिजुली लैजान भारत सहमत


169
Shares

काठमाडौं । नेपाल र भारत संयुक्त लगानीमा ठूला जलविद्युत आयोजना बनाउन तयार भएका छन् ।

काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकमा दुई देशबीच विजुली व्यापार बढाउने सहमति समेत भएको हो ।

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति पनि भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् ।

भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्त रूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि सरकारीस्तरमा संयुक्त लगानीको कम्पनी स्थापना हुनेछ । सोही कम्पनीले पहिलो चरणमा एउटा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्नेछ ।

भारतको सरकारी स्वामित्वको सतलज विद्युत निगमले संखुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । भारतीय कम्पनी जि.एम.आर.ले जिम्मा लिएको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको भने हालसम्म कुनै प्रगति भएको छैन ।

भारतमा विद्युत निर्यात गर्न नेपाल विद्युत प्राधिकरणले पेश गरेको विभिन्न निवेदन आउँदो वर्षायाम अगाडि नै स्वीकृति प्रदान गर्न नेपालले गरेको अनुरोधलाई भारतका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको बैठकमा सहभागी अधिकारीहरूको भनाई छ ।

नेपाल विद्युत प्राधिकरणले आगामी मनसुनमा ८५० मेगावाट बिजुली बिक्रीका लागि प्रस्ताव गरेको छ ।

Skip This