
काठमाडौं, फागुन १७ । दक्षिण कोरियामा प्राणघातक ‘कोरोनाभाइरस’को संक्रमण तीव्ररुपमा फैलिएको छ ।
शुक्रबार (हिजो) एकै दिन ५९४ जनामा नयाँ संक्रमणको पुष्टि भएको छ ।
योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या बढेर दुई हजार ९३१ पुगेको छ । १७ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी डेइगु सहरमा नयाँ सक्रमित भेटिएका छन् ।
चीनबाहिर ‘कोभिड–१९’ नाम दिइएको कोरोनाभाइरस संक्रमितको संख्या सबैभन्दा बढी दक्षिण कोरियामा भेटिएका छन् ।
सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूले एकार्कामा सारेपछि त्यहाँ कोरोनाभाइरस संक्रमण फैलिएको बताइन्छ ।
इटालीमा पनि संक्रमितको संख्या बढ्दै
इटालीमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । २१ जनाको मृत्यु भइसकेको छ भने करिब ७०० जना संक्रमित भएका छन् ।
क्यालिफोर्निया र ओरेगनमा नयाँ संक्रमित
अमेरिकाको क्यालिफोर्निया र ओरेगन राज्यमा नयाँ कोरोना संक्रमित पुष्टि भएको छ ।
विश्वभर ८३ हजार ६५० संक्रमित
चीनको वुहान सहरमा पहिलोपटक भेटिएको कोरोनाभाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको छ ।
यो भाइरसबाट विश्वभर ८३ हजार ६५० जना संक्रमित भेटिएका छन् । चीनमा मात्रै २७ हजार ९१ जनाको मृत्यु र ७८ हजार ९६१ जनामा संक्रमण देखिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्