Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


एमसीसी संसदमा आजै टेबल हुन्छः प्रवक्ता कार्की


208
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता संसदमा टेबल हुने भएको छ ।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले आइतवारै बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने सहमति जुटेको हो ।

गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबल हुने जानकारी दिनुभयो ।

उहाँले टेबल भइसकेपछि सभामा गहन रुपमा छलफल हुने र निष्कर्षमा पुगिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज म तपाईहरु सबैलाई संसद भवन तर्फ जानका लागि आग्रह गर्दछु । आज एमसीसी परियोजना सम्झौता सार्वभौम संसदमा टेबुल हुन्छ । र यसपछि सडकमा होइन, संसदमा गहन रुपले छलफल भएर एउटा निष्कर्षमा पुग्ने कुरा यहाँहरुलाई म अवगत गराउन चाहान्छु । आजै टेबुल हुन्छ ।’

प्रवक्ता कार्कीले एमाले नेतृत्वको पूर्ववर्ति सरकारले एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा दर्ता गराएको र सोही दर्तालाई टेबल गर्न लागिएको भन्दै यसको सम्बन्धमा एमालेले जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज टेबल हुन्छ म यति मात्रै भन्न चाहान्छु कि, यो एमसीसी परियोजना संसदमा दर्ता गराएको विगतको सरकार केपी शर्मा ओलीको नेतृत्वको सरकारले यसलाई संसदमा दर्ता गराएको हो । सरकारको अविच्छिन्न उत्तराधिकारीको रुपले हामीले यसलाई आज टेबल गराउछौँ । यसपछि प्रमुख प्रतिपक्षी दलमा रहेको एमाले जो त्यतिखेर सरकारमा हुनुहुन्थ्यो, उहाँहरुले यसको जवाफ तपाईहरुलाई दिनुपर्छ ।’

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।