– डीबी विष्ट/ ईमेज
बझाङ । सदरमुकाममा टहरामुनी जीवन गुजारा चलाउँदै आएका बादी समुदायले जनता आवास कार्यक्रममार्फत् पक्की घर पाएका छन् ।
साहुको ऋण तिर्न नसकेर बन्धकमा रहेका अतिविपन्न वादी समुदायलाई नगरपालिकाले ऋण चुक्ता गरी पक्की आवासको प्रबन्ध गरिदिएपछि उनीहरुमा खुसीको सीमा नै छैन ।
बझाङको जयपृथ्वी नगरपालिका १० का अतिविपन्न ८ वादी परिवार वर्षौँदेखि टिनको टहरामा गुजारा चलाउँदै आएका थिए ।
ऋण तिर्न नसकेर साहुको बन्धकमा रहेका उनीहरुलाई बिहान बेलुका हातमुख जोड्न समेत निकै सकस भइरहेको थियो ।
बाबु बाजेको पालादेखिको ऋण तिर्र्न नसक्दा उनीहरुले साहुबाट गालीगलौज मात्रै सहेनन् कुटपिट समेत भोग्नुप¥यो ।
नाँचगानबाट संकलन गरेको अन्नपात खोसेर लगिदिँदा कैयाँै दिन रोएर बिताउनुपरेको थियो ।
तर जनता आवास कार्यक्रममार्फत् नगरपालिकाले साहुको ऋण चुक्ता गरी पक्की घरसमेत बनाइदिएपछि उनीहरुको मुहारमा खुसीको आगमन भएको छ ।
ऋण नतिरेसम्म नयाँ घर बनाउन नदिने साहुहरुले अडान राखेपछि उनीहरुसँग सम्झौता गरेर नयाँ घर निर्माण गरिएको वडाध्यक्ष दलबहादुर विष्टको भनाइ छ ।
साहुबाट अनेक खालका तनाव र यातनाहरु सहँदै वादी समुदायले आफूहरुको ऋण मुक्त गरिदिए मात्र ढुक्कसँग बस्न सक्ने गुनासो गरेपछि ८ लाख ३० हजार ४ सय रुपैयाँ ऋण तिरी दिएको जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्का बताउँछन् ।
अभियानअन्तर्गत सरकारले ८ घर निर्माणका लागि प्रतिघरमा २ लाख ३२ हजारका दरले रकम दिएको थियो ।
उक्त रकममा नगरपालिकाका वडाध्यक्ष दलबहादुर विष्टले ९ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरी पक्की घर निर्माण गरि दिएका हुन् ।
अध्यक्षको आफ्नै लगानीमा खानेपानीको समेत व्यवस्था गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्