काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय विवादमा परिरहेका बेला सचिवालयको बैठक बोलाइएको हो । बैठकमा उपाध्यक्ष वामदेव गौतमको विषय केन्द्रमा रहने सम्भावना छ ।
गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा मनोनित गरी प्रधानमन्त्री बनाउने बाटो खुल्ला गर्नका लागि नेकपाले संविधान संशोधनको गृहकार्य थालेको छ । सो गृहकार्यको पार्टीभित्रै चर्को विरोध भएको छ ।
त्यसैगरी विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको ‘कमिसन डिल अडियो’ प्रकरणलाई पनि बैठकको मुख्य एजेण्डा बनाइएको छ ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एमसीसीबारे आफ्नो धारणा राख्ने बताइएको छ ।
नेकपाले गठन गरेको कार्यदलले एमसीसीबारे अध्ययन गरी निष्कर्षसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइसकेको छ ।
उनीहरुले तीन दिनभित्र प्रतिवेदन अध्ययन गरी यसको जवाफ दिने बताएका थिए । परिमार्जनविना एमसीसी सम्झौता अनुमोदन गर्न नहुने कार्यदलको निष्कर्षछि सरकार नैतिक संकटमा परेको छ ।









प्रतिक्रिया दिनुहोस्