गृष्मा राजभण्डारी र सानु माली (इमेज)
काठमाडौं, फागुन १३ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘एमसीसी’ सम्झौता संशोधनको अडान लिइरहेको बेला अर्को कम्युनिष्ट पार्टी नेपाल मजदुर किसान पार्टी एमसीसीविरुद्ध सडकमै उत्रेको छ ।
नेमकिपाले अमेरिकी सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध काठमाडौंस्थित अमेरिकी दूतावासमा विरोधपत्र बुझाउन पुगेका नेपाल मजदुर किसान पार्टीका नेता तथा समर्थकहरुलाई प्रहरीले दूतावासभन्दा केही परै रोक्यो ।
अमेरिकाविरुद्ध नाराबाजी गर्दै राजधानीको रत्नपार्कबाट महाराजगन्जस्थित दूतावासछेउसम्म पुगेका प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि नेमकिपाका सांसद प्रेम सुवालसहित सानो समूहले दूतावास पुगेर विरोधपत्र बुझायो ।
एमसीसीको विरोध गर्नु राजनीतिक पार्टीको आफ्नो नीति हुन सक्छ ।
तर, नेमकिपाले कक्षाकोठामा हुनुपर्ने भक्तपुरका विद्यालय र क्याम्पसका विद्यार्थीहरुलाई पोसाकमै मैदानमा उतारेर शैक्षिक वातावरणलाई ध्यान नदिएको देखियो ।
कतिपय विद्यार्थीलाई त केका लागि ल्याइयो भन्ने जानकारीसमेत थिएन ।
यतिमात्र होइन, दूतावासअगाडि प्रदर्शनका क्रममा यातायात आवागमनमा समेत ध्यान दिइएन ।
विरोध प्रदर्शनका क्रममा नेमकिपाका नेता तथा कार्यकर्ताले अमेरिकी सरकारविरुद्ध अभिव्यक्ति दिएका थिए ।
एमसीसी सम्झौता खारेजी गर्दै नेपालको सार्वभौमसत्ताको सम्मान गर्न उनीहरुले खबरदारी गरिरहेका थिए ।
नेपाल सरकारले आफ्ना माग सुनुवाइ नगरे थप आन्दोलित हुने चेतावनी नेमकिपाले दिएको छ ।
राजनीतिक मान्यताका आधारमा शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना माग प्रस्तुत गर्ने अधिकारको प्रयोग गर्दा राजनीतिक दलहरुले विद्यार्थीहरुलाई दुरुपयोग गर्ने अभ्यास छाड्नु पर्दछ ।
सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्दा सवारी–साधनको आवतजावतमा अवरोध नपुर्याउनेतिर पनि ध्यान दिनु पर्दछ ।









प्रतिक्रिया दिनुहोस्