Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


इतिलने सम्यकको निमन्त्रणा सम्पन्न


0
Shares

काठमाडौं, फागुन १२ । महान् बौद्ध परम्परा इतिलने सम्यक महादान पर्वको निमन्त्रणा कार्य सम्पन्न भएको छ ।

पाँच वर्षमा एकपटक हुने सम्यक महादान पर्वमा ललितपुर नगरका १८ ओटा प्रमुख बहाल बहिलका साथै काठमाडौं, भक्तपुर, कीर्तिपुर, चोभारलगायत स्थानका विहारहरुमा निमन्त्रणा गर्ने कार्य सम्पन्न भएको हो ।

प्राचीन शैलीकोे निमन्त्रणापत्र वाचन गरी सुनाएपछि सूचनाका रुपमा सोही विहारमा टाँगिन्छ ।

‘गोल्डेन टेम्पल’का नामले प्रख्यात हिरण्यवर्ण महाविहारका ज्येष्ठ सदस्य आःजुहरुका तर्फबाट गरिने निमन्त्रणामा धान, चामल, रोटी, फलफूललगायत चढाउने गरिन्छ भने काहा बाजाका साथ निमन्त्रणा गर्ने गरिन्छ ।

परम्पराअनुरुप फागुन १४ गते बुधबार बेलुकी ७ बजेदेखि दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारालगायत १२६ देवदेवताकालाई क्रमबद्ध राख्न सुरु गर्ने र १० बजे इतिल्हने अर्थात् नागबहालमा स्वागत गरी स्थान ग्रहण गराइ सम्यक महादान गर्ने गरिन्छ ।

त्यसको भोलिपल्ट अर्थात् फागुन १५ गते बिहीबार महाविहारका २० ज्येष्ठ व्यक्ति (बीस स्थविर आःजु) ले विशेष पूजाआजा गरी दान दिने परम्परा रहेको छ ।

लिच्छविकालीन संस्कृति र सभ्यताको धरोहरको रुपमा लिइने यो पर्व सात सय वर्षदेखि निरन्तर चल्दै आएको छ भने हिरण्य हिरण्यवर्ण महाविहार (क्वाबहाः) सुधार समितिले व्यवस्थापन गर्दै आएको छ ।

वि.सं. १८६१ सम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सम्यक महादान पर्व १८६२ सालदेखि प्रत्येक पाँच वर्षको एकचोटी सञ्चालन हुन थालेको हो ।

तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आयस्ता कम भयो । यसले गर्दा पाँच वर्षको एकचोटी सो पर्व आयोजना गर्न थालिएको हो । अब हुन लागेको पर्व ५३औं हो ।

इतिल्हने सम्यक महादान पर्वसँग जोडिएको पौराणिक कथा

ठकुरी वंशको राजा भाष्करदेवका सन्तति भरिभारो भन्ने व्यक्तिले आफ्नो दरिद्रता लुकाउन ढुकुटीमा गाईको गोबर जम्मा गरी साँचो सधैं आफूसँग राख्ने गरेको कुरा उल्लेख छ ।

ढुकुटीमा गोबर छ भन्ने थाहा नपाउन् भनेर सधैं साँचो आफूले राख्ने गरेको कारण उसकी पत्नीमा कौतुहलता थियो ।

एकदिन भरिभारोले वाग्मती नदीमा स्थान गर्न जाँदा साँचो बिर्सेर गए । साँचो देखेपछि उत्सुक पत्नीले ढुकुटी खोली हेर्दा ढुकुटी सुनले भरिएको फेला पारिन् । यो कुरा उनले पति फर्कनासाथ सुनाइन् । गोबर जम्मा गरेको कसरी सुन भएछ भनेर भरिभारो अचम्ममा परे ।

ढुकुटीमा हेर्दा साँच्चै सुनको भण्डार देखेपछि भरिभारोले ‘यो सब त्रिरत्नको आशिषले भएको’ आफ्नी पत्नीलाई बताए ।

यही धनबाट सम्यक महादान पर्व सुरु गरी पर्व निरन्तरताका लागि सम्यक गुथि स्थापना गरी हिरण्यवर्ण महाविहारलाई जिम्मा लगाएको कथन छ ।