Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचना


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, फागुन १२ । चौतर्फी आलोचनाको शिकार भइरहेको नेकपा सरकारमा यतिबेला प्रधानमन्त्रीको जन्मोत्सवको विषयलाई लिएर आलोचना भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा तेह्रथुममा नेपालको नक्सा भएको केक काटिएपछि सामाजिक सञ्जालमा ओलीको राष्ट्रवादी छविमै प्रश्न उठ्ने गरी विरोध भएको छ ।

पटक–पटक सरकारको काम–कारबाहीले होस् वा सरकारका मन्त्रीकै कारण विवादमा पर्दै आएका ओली पछिल्लो समय आफ्नै जन्मोत्सवको विषयलाई लिएर विवादमा तानिएका छन् ।

नेपालको नक्सा भएको ‘बर्थडे केक’ काटेर आफ्नो ६९औं जन्मोत्सव मनाएका प्रधानमन्त्री ओलीले आचारसंहिताविपरीत काम गरेको भन्दै सामाजिक सञ्जाल गर्माएको हो ।

ट्वीटरमा साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य भन्छन्, ‘प्रम ज्यु, ‘बर्थडे–केक’ को तस्बिर विद्रुप लाग्यो । प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन । प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन । १९९८ मा रुसमा चै कम्युनिष्ट शासनको अन्त्य मनाउन लेलिनको आकृतिको केक काटिएको थियो ।’

यस्तै, साझा पार्टीका नेता रवीन्द्र मिश्रले पनि ट्वीट्रमै भनेका छन्, ‘जनतालाई हेप्नी ? प्रधानमन्त्रीज्यूलाई शुभकामना । तर गाउँको गरिवी, आम जनभावना,समाजवादी/साम्यवादी सोच, देशभक्ती– सबैको उपहास भयो । अविकास, कुशासन, काण्डैकाण्डको पीडा त छँदैछ । “गर्छौ पाप, खोज्छौ स्वर्ग, जान्दैनौ कर्मको गति रिट्ठाको बोट रोपेर कहाँ फल्छ र कागती ।”

प्रधानमन्त्री ओलीले ट्रयाक्टरमा ओसारिएका विद्यार्थीहरुलाई कापी–कलम वितरण गरेपछि विवेकशील नेपालीका नेता मिलन पाण्डेले फेसबुकमार्फत् लेख्छन्, ‘श्री ६ प्रधानमन्त्री केपी शर्मा ओली ज्यु । नागरिकलाई ट्रयाक्टर, प्रधानमन्त्रीलाई हेलिकप्टर ? प्रधानमन्त्रीको हेलिकप्टरले नागरिकको ट्रयाक्टरलाई हेप्दै छ । गिज्याउँदै छ । अनि, लोकतन्त्र लज्जित छ ।’

यस्तै, ट्वीटरमै नारायण अमृत भन्छन्, ‘बर्थडे केक’मा नेपालको नक्सा रहेछ । नक्सा काटेर लिम्पियाधुराको अनुमोदन हो कि अरु कुनै अलंकारको खोजी ? कहिलेकाँही सौन्दर्य, सन्देश र संवेगको वेसुर बाँसुरीमा मात्र हैन अरु उपक्रमहरुमा बज्दोरहेछ ।’

हुनत ओली सरकारको दुईवर्षे कार्यकाल नै कुनै न कुनै विवादमा रहँदै आएको छ । पटक–पटक आफ्नै अभिव्यक्तिका कारण पनि ओली सरकार विवादको घेरामा तानिँदै आएका छन् ।

नेपालमा पानीजहाज, रेल चलाउने कुरा होस् वा सडक सडकमा आफ्नै तस्वीर झुन्ड्याइनुले पनि उनी यसअघि विवादमा परिसकेका छन् ।