
काठमाडौं, फागुन २ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताउनुभएको हो । उहाँले प्राथमिकताको आधारमा आयोजना छनौट गर्नुपर्ने र असिमित आवश्यकताहरुलाई सिमित साधन, स्रोतले पुरा गर्ने परिपाटी बसाल्नुपर्ने बताउनुभयो ।
उहाँले विकास आयोजनाको नाममा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुशी बनाउनुपर्ने अवस्थाले देशको विकास हुन नसक्ने बताउनुभयो ।
मन्त्री झाँक्रीले स्थानीय तहमा भइरहेको वित्तीय हस्तान्तरणको तालमेल मिले नमिलेको सम्बन्धमा बहस हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहलाई पर्याप्त रुपमा वित्तिय हस्तान्तरण भएको उल्लेख गर्दै गाउँपालिका र नगरपालिकाहरुले आफैँलाई सरकारको रुपमा अभ्यास गरिरहेको बताउनुभयो । उहाँले आयोजना बाँडेर चुनाव जित्छु भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो ।
आयोजनाहरु स्वचालित ढंगले छनौट हुने तथा आवश्यकता र प्राथमिकिकरणको आधारमा गर्ने प्रणालीको स्थापना गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्