-ध्रुव भट्टराई/ ईमेज
विराटनगर । सरकारी निकायबीच समन्वय नहुँदा प्रदेश १ को गौरवको आयोजनाअन्तर्गतको विराटचोक–घिनाघाट सडकखण्डको काममा अवरोध भएको छ ।
समन्वयको अभावमा सडकखण्डमा पर्ने बिजुलीको पोल, खानेपानीको पाइप र रुख कटानको काममा विलम्ब हुँदा सडक निर्माणमा समस्या भएको हो ।
निर्माणाधीन विराटचौक–घिनाघाट सडकखण्डलाई प्रदेश– १ सरकारले प्रादेशिक आयोजनाका रुपमा हेरेको छ ।
२२ किलोमिटर लम्बाइ रहेको उक्त सडक दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी अहिले चार लेनको बनाउने काम भइरहेको छ ।
१ अर्ब ४० करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको सडकको काम अहिलेसम्म उत्साहजनक रुपमा अघि बढिरहेको थियो ।
दुईवटा प्याकेजमा श्रेष्ठ निर्माण कम्पनी र श्रेष्ठ रमण एपेक्स जेवीले गएको असोज महिनाबाट सडक निर्माण सुरु गरेकामा अहिलेसम्म ३० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।
तर सडकखण्डमा रहेका ६ सयभन्दा बढी बिजुलीका पोलहरु र ३ सयभन्दा बढी रुखहरु हटाउनुपर्ने छ ।
त्यस्तै सोही क्षेत्रमा खानेपानीको पाइपसमेत रहेकाले तीव्र रुपमा निर्माणको काम भइरहेको सडक निर्माण अहिले अवरुद्ध बनेको हो ।
विभिन्न सरकारी निकायहरुबीचमा समन्वय नहुँदा सडक निर्माण सुरु भएको पाँच महिना हुँदा पनि बिजुलीका पोल हटाउने ठेक्का पक्रिया समेत सुरु हुन सकेको छैन ।
प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय मोरङ सडकको अनुगमनका साथै समन्वयको भूमिकामा छ ।
विजुलको पोल स्थानान्तरण, रुख कटान र खानेपानी पाइप हटाउन बेग्लाबेग्लै निकायसँग समन्वय गर्नुपर्छ ।
सडकको काम आगामी २०७८ साल असार मसान्तसम्म सक्नुपर्ने समय सीमा रहेकाले अवरोधहरु हटाउने काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
यो सडकलाई विराटनगर प्रवेश गर्ने कोसी राजमार्गको विकल्पको रूपमा हेरिएको छ ।
काममा अवरोध देखिएपछि स्थानीय पनि चिन्तित बनेका छन् ।









प्रतिक्रिया दिनुहोस्