२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


ट्रम्पले भारतमा ताजमहलको भ्रमण गर्ने, व्यापार सम्झौता नहुने


0
Shares

अहमदाबाद, फागुन १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन गर्ने भएका छन् ।

उनले भारतको ताजमहलको पनि भ्रमण गरेर सूर्यास्तको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

तर, पूर्वअपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ ।

राष्ट्रपति ट्रम्पको भ्रमणले दुईपक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ ।

विज्ञहरुले अमेरिकाले चीनसँगको सम्बन्धमा दबाब दिनका लागि रणनीतिक मित्रका रुपमा भारत उपयोग गर्न खोजेको बताएका छन् ।

‘भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन । तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु’–७३ वर्षीय ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भनेका छन् ।

ट्रम्पले यसअघि पनि गत नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख गरेका थिए । उनले मोदीसँग व्यापारका कुरा भने हुने बताएका छन् ।

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानिया, छोरी इभान्का र ज्वाईं जारेड कुश्नर रहनेछन् ।

राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्लीमा ओर्लिएपछि सुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्नेछन् ।

आफू मुख्यमन्त्री हुँदा गरेको भूकम्पपछिको पुनःनिर्माण देखाउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गराउन लागेका हुन् ।

सोहीक्रममा उनले गुजरात क्रिकेट एसोसिएसनद्वारा निर्मित सरदार पटेल रंगशालाको उद्घाटन गर्नेछन् ।

‘मोटेरा स्टेडियम’समेत भनिने सो खेलमैदानको वरिपरि ७०० मिटर लामो पर्खाल बनाइएको छ ।

खेलमैदानमा एक लाख मानिसको उपस्थितिमा ‘नमस्ते ट्रम्प’ कार्यक्रमको पनि आयोजना गरिएको छ ।

नमस्ते ट्रम्प कार्यक्रम गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमकै प्रतिरुप हो । त्यतिबेला हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी भएपछि दुवैले प्रवासी भारतीय अमेरिकीलाई सम्बोधन गरेका थिए ।

नमस्ते ट्रम्प कार्यक्रमपछि उनी श्रीमतीसहित ताजमहल अवलोकन गर्न जाने भएका हुन् । ताजमहलमा ट्रम्पको टोली एक घन्टा रहने तालिका छ ।

भ्रमणको दोस्रो दिन मंगलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायतका विषयमा छलफल गर्ने भएका छन् ।

ट्रम्प राष्ट्रपति भएपछिको भारतको पहिलो औपचारिक यो भ्रमण दुई दिनमात्रै हुने तय भएको छ ।

ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन् । उनको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदैछ ।

अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ ।

मोदी र ट्रम्पबीच पछिल्लो ८ महिनामा पाँचौंपटक भेट हुँदैछ । यसअघि, यी दुई शीर्ष नेताबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतिक्षा गरिरहेको बताएका छन् ।

उनकाअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति भएका छन् ।

यसअघि, तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१५ जनवरी २५–२७ मा तीनदिने भारत भ्रमण गरेका थिए । उनले आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गरेका थिए । रासस/एएनआई/एएफपी