राँझा, फागुन १० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘गुट र उपगुटमा डुबेको कांग्रेसलाई त्यसबाट बचाउन पनि महाधिवेशन आवश्यक छ ।’
नेता डा. कोइरालाले १४औं महाधिवेशनबाट कांग्रेसलाई गुट–उपगुटमुक्त बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनको तयारीमा लाग्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
उनले कुनैपनि अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताउँदै आफूहरु बीपीको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अघि बढाएर लैजानपर्छ भन्ने कुरामा दृढ रहेको उल्लेख गरे ।
‘मुलुक अत्यन्त गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ । देशमा हाल नियन्त्रित प्रजातन्त्र, सुशासनरहित अवस्थाका कारण मौलाएको भ्रष्टाचारले गर्दा मुलुक नै भड्खालोमा जाने सम्भावना रहेको छ’–उनले भने ।
नेता कोइरालाले सरकारका मन्त्री भ्रष्टाचारकान्डमा मुछिनु गलत भएको उल्लेख गर्दै निष्पक्ष छानबिनको मागसमेत गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, डा. चन्द्र भण्डारीलगायतका नेताका साथमा बाँके आएका नेता डा. कोइराला शनिबार पार्टीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांगे्रस बाँकेकी सभापति किरण कोइरालाले जानकारी दिइन् । रासस









प्रतिक्रिया दिनुहोस्